धुर्मुस-सुन्तलीले काभ्रेमा बनाइदिएको नमुना वस्ती
Unknown
10:28:00 AM
0
काठमाडौं, श्रावण २७ - सरकारले एकीकृत बस्तीको खाका नबनाउँदै कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’सहितको टोलीले पाँचखाल १६ पहरीगाउँमा एकीकृत नमूना बस्ती बसाएको छ ।
मेरी बासै, भद्रगोलका कलाकार र सगुन डटकमको टोलीको ७० दिनको खटाइपछि उनीहरुको सपना पूरा भएको हो । बस्तीको धुर्मुस–सुन्तली एकीकृत नमुना बस्ती नामाकरण गरिएको छ ।
पहरी गाउँमा एकैनासका घरभित्रै शौचालय भएको बगैँचासहितको ३ कोठे पक्की २० घर बनेका छन् । प्रत्येक घरको लागि खानेपानी धारा र बस्तीमा ५ बायोग्यास प्लाट जडान गरी सबै घरमा व्यवस्था गरिएको छ । डिस होम समेत जडान गरिएको धुर्मुसले जानकारी दिए ।

पलाञ्चोक भगवती मन्दिरमा दैनिक फूलको व्यवस्था गर्ने र जात्राहरुमा खट बोक्ने कामका लागी पलाञ्चोकमा गुठी जग्गामा बसेका पहरीहरुको नाममा कुनै जग्गा छैन । बाबुबाजेको नाममा रहेको गुठीको जग्गामा नै उनीहरुले भोगचलन गर्दै आएका छन् ।

सुन्तलीका अनुसार बस्ती निर्माणको लागि कुल ६७ लाख ३७ हजार खर्च भएको छ । अमेरिकामा भएको कार्यक्रमबाट उठेको ६ लाखसहित विभिन्न दाताबाट ४७ लाख ६८ हजार उठेकोमा १९ लाख ६९ हजार ऋण गरेका छन् । हस्तान्तरण कार्यक्रममा विभिन्न व्यक्ति र संघसस्थाले ९ लाख बराबरको सहयोग गरेका छन् ।
कलाकार धुर्मुस र सुन्तली, भद्रगोलका कलाकार र सगुन डटकमका प्रतिनिधि ७० दिन नै पहरी गाउँमा बसेर भवन निर्माण गरेका थिए । बिहान ५ बजे उठेदेखि बेलुका ७ बजेसम्म उनी खाडल खन्ने, माटो भर्ने, सिमेन्ट र बालुवा घोल्ने लगायतका काममा धुर्मुस व्यस्त भए ।

१५ महिनाकी छोरी सुबिहानीलाई परिवारको जिम्मा लगाएर सुन्तली पनि धुर्मुसलाई सघाउन पहरीगाउँमा नै डेरा जमाएर बसिन् । कतिपय कलाकार विभिन्न दाता जुटाएर, केही राहत सामाग्री लिएर गाउँ सेल्फी खिचाउन व्यस्त भए तर धुर्मुस र सुन्तली २ महिना नै कामदारकै रुपमा पहरी बस्तीमा बसेर काम गरे ।
अमेरिकामा रहेका धुर्मुस जोडी नेपालमा विपतसँगै केही गर्ने अठोट लिएर नेपाल फर्किएका थिए । १७ वटा कार्यक्रमहरु र लाखौँको आम्दानी माया मारेर उनीहरु नेपालीको पीडामा मल्हम लगाउन आएका थिए ।
५६ जनाको ज्यान गएको सिन्धुपाल्चोकस्थित पिपलडाँडामा ६० परिवारलाई शौचालय, नुवाकोटको कुलेगाउँ र ठूलो चित्रेमा २ सय ८० वटा शौचालय बनाएका छन् । विद्यालय भवन तयार गरेका छन् ।
बुधबार सहरी विकास मन्त्री डा. नारायण खड्काले हस्तान्तरण गरे । उनले यसलाई सरकारले नमुनाको रुपमा लिएको बताउँदै नीति निर्माणमा नयाँ सोच र आयाम थपेको बताए । उनले कलाकारको नेतत्वृमा तयार भएको नमुना बस्ती सरकार उद्योगी, व्यवसायी, गैरसरकारी निकायको लागि दबाब भएको तर्क गर्दै यही नमुना अनुसार सरकारले अन्य स्थानमा विस्तार गर्ने योजना सुनाए । उनले सो गाउँमा बाकी ४० परिवारको लागि सबैको सहयोगमा सोही मोडलको बस्ती विस्तार गर्न सरकार तयार रहेको जानकारी दिए ।
कलाकार मदनकृष्ण श्रेष्ठले बस्तीको सरसफाईमा जोड दिन आग्रह गरे । हरिवंश आचार्यले धुर्मुस र सुन्तलीको नेतृत्वमा उदाहरणीय काम भएको भन्दै विवादका कारण बन्न नसकेको पुनर्निर्माण प्राधिकरणको नेतृत्व उनीहरुलाई दिन आग्रह गरे ।
स्थानीय श्याम पहरीले सरकारले नगरेको काम कलाकारले गरेको भन्दै बस्तीलाई नमुनाको रुपमा विकास गरेर पर्यटकीय विकासका कार्य गर्ने प्रतिवद्धता जनाए । कुमार कट्टेल (जिग्री)ले युवालाई परिचालन गरे पुननिर्माण सहज हुने बताए ।

अर्जुन घिमिरे (पाँडे)ले सरकार र राजनीतिक दललाई कलाकारबाट सिक्न आग्रह गरे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुदर्शन ढकाल, मेरी बासै, जिरे खुसार्नी, भद्रगोलमा आवद्ध कलाकार, नायक नवल खड्का, आर्यन सिग्देल, गायक राजेश पायल राई लगायतका कलाकार उपस्थित थिए ।




