पोखरा जाँदै गरेको बस त्रिशुलीमा खस्यो, २१ को मृत्यु
Unknown
1:06:00 PM
0
मुग्लिनः मुग्लिन नजिकै भएको यात्रुबाहक बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २१ पुगेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए । उपचारका क्रममा चितवन मेडिकल शिक्षण अस्पतालमा एक जनाको मृत्यू भएको छ ।
१६ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये १२ जनाको भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा र चार जनाको भरतपुरकै कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
गौरबाट पोखरातर्फ गइरहेको ग १ ख ३७०९ नम्बरको यात्रुबाहक बस नारायणगढ मुग्लिन सडकखण्डको कालीखोला नजिकै दुर्घटना भएको हो । दुर्घटनास्थल मुग्लिनबाट साढे दुई किलोमिटर नारायणगढतर्फ रहेको छ ।
घटनास्थलमा स्थानीयबासी प्रहरी तथा कुरिनटारबाट गएको सशस्त्र प्रहरीको टोलीले उद्धार गरिरहेको छ ।
वर्षाको भेलले त्रिशुली नदीको सतह बढेका दुर्घटना हुँदा उद्धार कार्य कठिन बन्दै गएको छ । बसको अधिकांश भाग नदीमा डुबेकाले घाइते तथा मृतकको उद्धारमा कठिनाई भएको उद्धारकर्मीको भनाई छ । यद्यपी डुंगाको प्रयोग गरेर पनि अहिले उद्धारकार्य जारी छ । दुर्घटनास्थलबाट तत्काल उद्धार गरी घाइतेको उपचार व्यवस्था मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय प्रशासनलार्इ निर्देशन दिएका छन् ।





