प्रहरी चौकीमै गोली चल्यो, एक जवानको मृत्यु
५ असोज, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको ठोकरपा प्रहरी चौकीमा प्रहरी जवानले चलाएको गोली लागि अर्का एक जवानको मृत्यु भएको छ । सोमबार राति ड्यूटीमा रहेका प्रहरी जवानले गोली चलाउँदा अर्का जवानको मृत्यु भएको हो ।
ड्यूटीमा रहेका जवान अशोक बरालले प्रहार गरेको गोली लागि प्रहरी जवान रेशमबहादुर थापाको मृत्यु भएको डीएसपी विश्व अधिकारीले अनलाइनखबरलाई जानकारी दिए ।
अधिकारीले भने-‘राति नौ बजेर ५० मीनेट जाँदाको घटना हो । बरालले गोली चलाएको देखियो, रेशमको घटनास्थलमै मृत्यु भएको छ ।’ उक्त घटनापछि जवान बराल राइफल छाडेर फरार रहेको डीएसपी अधिकारीले बताए ।
घटनाको कारण खुल्न नसकेको भन्दै अधिकारीले भने-‘के कारणले घटना घट्यो अनुसन्धान जारी छ । उनीहरुबीच हिजो अस्ति तिर पनि केही विवाद भएको हामीले पाएका छैनौं । फरार अभियुक्तको खोजी जारी रहेको छ । चाँडै कारण खुल्ला ।’
रेशम र अशोक प्रहरी चौकी ठोकरपामा एकै समय ड्यूटीमा रहेका थिए ।
घटनाको अनुसन्धान गर्न बेग्लै टोली तयार पारेर खटाइएको उनले बताए ।




