भूइँचालो आएपछि काठमाडौंमा तरकारीको भाऊ घट्यो
Unknown
8:05:00 PM
0
१८ वैशाख, काठमाडौं । कीर्तिपुरबाट तरकारी किन्न कालिमाटी बजारमा आएकी सीता भुसाल तरकारीको भाउ सुनेर छक्क परिन् । घरबाट निस्कँदा सोचेकोभन्दा धेरै सस्तो भाउमा ताजा तरकारी पाएपछि उनी छक्क परेकी हुन् ।
‘भूकम्प आएपछि अहिले तरकारीको भाउ सस्तो पाएँ’ भुसालले अनलाइनखबरसँग भनिन्- ‘विपतका बेलामा तरकारी पाउनु नै ठूलो कुरा हो, ताजा तरकारी सस्तैमा पाइयो ।’
कलंकीबाट तरकारी किन्न आएकी रमा जोशीले बजारमा तरकारी ताजा पाइएको बताइन् । ‘सबैले तरकारीको हाहाकार हुन्छ भन्थे, तर सबै तरकारी ताजा पाइएको छ’ उनको भनाइ थियो । अघिल्ला दिनको तुलनामा शुक्रबार तरकारीको भाउ निकै सस्तिएको उनले बताइन् ।
‘बजारमा तरकारीको अभाव हुन्छ कि भनेर उपभोक्ता डराउने भन्दा पनि तरकारी बिक्दैन कि भनेर व्यवसायी डराउनुपर्ने बेला आएको छ’ व्यवसायी विजय कुमारले भने- ‘भूकम्पको सुरुवाती दिनमा भन्दा अहिले तरकारीको भाउ धेरै घटेको छ ।’
बजारमा मागभन्दा आपूर्ति बढेपछि तरकारीको भाउ हृवात्तै घटेको हो । भूकम्प आएको सुरुका ३/४ दिन तरकारी अत्यन्तै महंगो भए पनि बिहीबारदेखि भाउ घट्न थालेको व्यवसायी बताउँछन् । व्यवसायीका अनुसार भूकम्प आउनु अगाडिभन्दा अहिले तरकारीको भाउ ३० देखि ४० प्रतिशतसम्म भाउ घटेको छ ।
भूकम्पको त्रासबाट ठूलो संख्यामा मानिसहरु राजधानी छाडेर घर गएपछि तरकारीको भाउ घटेको हो । ‘बजारमा तरकारी धेरै आएको छ, किन्ने मानिसहरु घरतिर लागे’ कालिमाटी बजारकी खुद्रा व्यापारी वृन्दा कटुवालले भनिन्- ‘किन्ने मानिस नभएपछि तरकारी कुहिने डर छ ।’
अहिले तरकारीको व्यापार ५० देखि ६० प्रतिशत घटेको व्यवसायी बताउँछन् । बजारमा पर्याप्त मात्रामा ताजा तरकारी आएको हुँदा अभाव हुने कुनै संकेत देखिँदैन । बजारमा ताजा तरकारी रोजी-रोजी खरिद गर्न सकिन्छ ।
भूकम्प आएको ३/४ दिनसम्म भने तरकारी निकै महंगिएको थियो । त्यतिबेला आपूर्ति कम भएको र खाने मानिसको संख्या धेरै भएको हुँदा तरकारीको भाउ चर्किएको थियो । शुक्रबार कालिमाटी तरकारी बजारमा पुग्दा तरकारी किन्ने उपभोक्ता भन्दा व्यवसायीको संख्या बढी देखिन्थ्यो ।
मंगलबार र बुधबार किलोको ८० रुपैयाँमा बिक्री भएको ब्रोकाउली शुक्रबार ४० रुपैयाँमा बिक्री भएको छ । भूकम्प अगाडि करेलाको भाउ १२० रुपैयाँसम्म थियो, शुक्रबार ४५ रुपैयाँ घटेको छ ।
बोडी, घिरौंला, काँक्रो, बन्दा, मसरुमलगायतका तरकारीको मूल्य आधा सस्तो भएको छ । भूकम्प आउनु अगाडि किलोको १६० रुपैयाँमा बिक्री हुने मसरुम ८० रुपैयाँसम्म बिक्री भएको छ ।
कालिमाटीकी खुद्रा व्यवसायी सुमिना ढुंगानका अनुसार शुक्रबार देखि तरकारीको आपूर्ति बढेको छ । बिहीबारसम्म बजारमा तरकारीको अभावजस्तै रहेको बताउँदै उनले शुक्रबार एक्कासी बढी तरकारी आएको बताइन् ।
आलु र प्याजको भाऊ पनि घट्यो
आलु तथा प्याज व्यापारी देवीकुमारी कुँवर भूकम्प अगाडि भन्दा अहिले आलु प्याजको भाउ घटेको बताउँछिन् । मागअनुसारको आलु प्याज आपूर्ति भइरहेको बताउँदै उनले साँखु, पाँचखाल र भारतबाट आयात भइरहेको जानकारी दिइन् ।
‘आलु प्याज भनेजति छ, तर बिक्री छैन’ कुँवरले भनिन्- ‘एउटा पसलले दैनिक सरदर ६०/७० बोरा आलु बेच्ने गरेकोमा अहिले मुस्किलले २० बोरा बिक्री हुन्छ ।’
कालिमाटी तरकारी बजारमा धादिङ, पाँचखाल, तराईका विभिन्न जिल्ला र भारतबाट तरकारी आउने गर्छ । यही अवस्था रहिरहने हो भने शनिबारदेखि तरकारीको भाउ झनै घट्ने व्यवसायीले बताए ।
भूकम्प पीडितलाई तरकारीको राहत
व्यवसायीहरुले बिक्री नभएको तरकारी विभिन्न संघ-संस्थामा मार्फत भूकम्प पीडितलाई उपलब्ध गराएका छन् । शुक्रबार मात्रै १५/२० गाडी तरकारी राहतका रुपमा विभिन्न जिल्लामा पठाएको व्यवसायी कटुवालले जानकारी दिइन् ।
सबै व्यवसायीहरु तरकारी सकेसम्म कम मूल्यमा राहतका लागि बिक्री गर्ने, नभए निःशुल्क भए पनि पीडितलाई उपलब्ध गराउने सोचाइमा देखिएका छन् ।
source : onlinekhabar.com
source : onlinekhabar.com




